बाग्मतीमा बग्न थाल्यो प्रशोधित पानी

बाग्मतीमा बग्न थाल्यो प्रशोधित पानी

काठमाडौं : सरकारी अधिकारीहरुले शिवरात्रीमा पशुपतिसँगैको बाग्मती नदीमा धार्मिक स्नान गर्न चाहानेले अहिलेजस्तो नाक थुन्न नपर्ने बताएका छन् । सरकारले गोकर्णदेखि गुहेश्वरीसम्म बाग्मतीमा मिसाइएको ढललाई मंगलबारबाट आधुनिक प्रशोधन केन्द्रमा प्रशोधन पछि मात्रै नदीमा खसाल्न थालेको छ ।

बाग्मती सभ्यता विकास एकीकृत विकास समितिका अनुसार महाशिवरात्रीसम्म नदीमा सफा पानी बग्न सुरु गर्नेछ । समितिका कार्यकारी निर्देशक लिलाप्रसाद ढकाल नदीमा सङ्लो पानी बग्न सुरु भइसकेको बताए । नदीमा हालिने ढल प्रशोधनका लागि सरकारले गुहेश्वरीमा फोहोरपानी प्रशोधन केन्द्र बनाएको छ । जसमा गोकर्णदेखि गुहेश्वरीसम्मको ढलहरु जोडिएको छ ।

‘पानी सफा बगेपनि नदीको बालुवा रहने भागमा कालो देखिन्छ,’ उनले भने,’वर्षायाम भए त्यो बगाएर लान्थ्यो र पानी कञ्चन देखिन्थ्यो, तर पनि त्यो कालो लेदोजस्तो हटाउन ढल सेनामार्फत प्रयास भइरहेको छ । ढकालका अनुसार प्रशोधन केन्द्र निर्माणको काम लगभग सकिएर केही समयअघिदेखि परीक्षण भइरहेको थियो । प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै पशुपति क्षेत्रमा बाग्मती नदीमा सहजै नुहाउन मिल्ने सरकारको दाबी छ ।

बाग्मतीलाई ढलरहित बनाउने अभियानमा यो निकै महत्वपूर्ण आयोजना भएको भन्दै ढकालले भने, ‘पशुपतिनाथका भक्तजनहरुले बाग्मतीको पानीमा भक्तजनले नुहाउनसक्ने बन्दैछ ।’गुहेश्वरीमा दैनिक ३ करोड २५ लाख लिटर पानी प्रशोधन गर्न सक्ने प्रशोधन प्लान्ट बनेको छ । २ अर्ब ५५ करोड रुपैयाँ लागतमा यो प्रशोधन केन्द्र बनेको हो ।

हाल पशुपति क्षेत्रसम्म बाग्मतीमा दैनिक २ कुरोड २२ लाख लिटर मात्रै पानी बगिरहेको अनुमान छ । हिँउदमा ढलबाहेक बागमतीमा ठूलो प्राकृतिक मूलको पानी बग्न पाउँदैन । त्यसैले गुहेश्वरीसम्मको सबै फोहोर पानीलाई प्रशोधन केन्द्रले प्रशोधन गरिरहेको दावी ढकालको छ ।गुह्यश्वरीमा जस्तै सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण, र चल्नाखेलमा ढल प्रशोधन केन्द्र निर्माण भइरहेका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तरगतको आयोजना कार्यान्वयन इकाई (पीआईडी)ले ढल प्रशोधन केन्द्रहरुको निर्माण गरिरहेको हो । उक्त काम सकिएपछि ढल सीधै खोला वा नदीमा नमिसाइने कार्यकारी निर्देशक ढकाल बताए। त्यसकै लागि विभिन्न खोला र नदीका कोरिडोरमा ढलका ठूला पाइप बिछ्याउने काम भइरहेको छ । ढलहरु प्रशोधन केन्द्रसम्म पुग्ने गरी एकीकृत ढल प्रणालीमा जोडिनेछ ।

ढललाई प्रशोधन केन्द्रसम्म पुर्‍याएर विभिन्न चरणमा प्रशोधन गरिनेछ । त्यसक्रममा ग्यास समेत निस्कनेछ । त्यो ग्यास प्रयोग गरेर बिजुली निकाल्ने योजना पनि छ । गुह्येश्वरीबाट मात्र २४० किलोवाट बिजुली निकाल्ने बताइएको छ । सल्लाघारीमा १ करोड ४० लाख लिटर र कोड्कुमा १ करोड ७५ लाख लिटर ढल प्रशोधन गर्नसक्ने प्लान्ट निर्माण गरिँदैछ । धोबीघाटमा दुई ३ करोड ७० लाख लिटरका दुई वटा प्लान्ट निर्माण गर्न लागिएको छ । अहिले पीआईडीले १०१ किलोमिटर खोला नदी किनार क्षेत्रमा ढलको इन्टरसेप्टर निर्माण गरिरहेको छ । पीआईडीले हनुमन्ते, मनोहरा र खसाङखुसुङ खोलाको किनारमा इन्टसेप्टर जोड्ने काम गरिरहेको छ ।