म्याग्दीमा उब्जनी बढाउन मानवमुत्र संकलन अभियान तिब्र पारीदै

म्याग्दीमा उब्जनी बढाउन मानवमुत्र संकलन अभियान तिब्र पारीदै

म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका कृषकले खेतबारीमा मानवमूत्र प्रयोग गरेर बाली लगाउँदा उत्पादन बढेपछि अहिले मानवमूत्र (पिसाव) संकलन अभियानलाई तीब्रता दिएका छन्। दुई वर्षअघिदेखि मंगला गाउँपालिकाले वडा नं ५ अर्मनको शिशु कल्याण माविमा प्रयोग गरेको संकलन गर्ने प्रविधि सफल भएपछि अन्य वडाहरूमा समेत मानवमूत्र संकलन अभियानले तीब्रता पाएको हो।

अहिले मंगला गाउँपालिकाका कृषक मानवमूत्र संकलन गर्नका लागि घर र सार्वजनिक स्थानका शौचालयमा जर्किनको प्रयोग गर्न थालेका मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए। मंगला गाउँपालिकाका सवै विद्यालयहरुका शौचालयमा जर्किन राखेर विद्यार्थीले सोही जर्किनमा पिसाब गर्ने गरेका उनले जानकारी दिए।

त्यसरी संकलन गरिएको मानवमूत्र (पिसाव)लाई किसानले खेतवारीमा प्रयोग गर्दा उत्पादनमा दोब्वर बृद्धि हुनुका साथै रोग किराको प्रकोपसमेत नदेखिएको उनले बताए। गाउँपालिकाको वडा नं ५ मा अर्मन सिर्कुमको किसानी आधारभूत विद्यालय, वडा नं १ कुहुँको दिपशिखा मावि, वडा नं २ स्थित त्रिभुवन मंगला माविले पिसाव संकलन अभियान शुरु गरिसकेका छन्।

त्यस्तै वडा नं ३ मा रहेको महेन्द्ररत्न माविमा समेत तालिम सञ्चालन गर्ने बताइएको छ। समुदायको प्रतिबद्धता अनुसार गाउँपालिकाका सबै वडाका विद्यालय, सार्वजनिक स्थान र घरमा शौचालयमा राख्नका लागि जर्किन वितरण गरी त्यसमा नै पिसाब गर्ने र सोही पिसाब खेतबारीमा लगाइएको बालीनालीमा प्रयोग गरी उत्पादन बढाउने नयाँ तरिका बारेमा तालिमको तयारीसमेत भइरहेको छ।

यसअघि गाईभैँसी तथा कुखुरा र भेडाबाख्राको मलमूत्रबाट तरकारी र खाद्यान्न उत्पादन गर्दै आएका किसानले खेर जाने मूत्रको प्रयोगले सुन्तला, मकै, सिमी, काउली बन्दा लगायत कृषिजन्य उत्पादनमा बृद्धि भएको गाउँपालिकाका कृषि प्राविधिक शाखाका प्रमुख जगत बानियाँले बताए। उनका अनुसार पिसाबमा क्याल्सियम, फस्फोरस भएकाले रसायनिक मलभन्दा धेरै गुणा राम्रो हुन्छ।