काठमाडौँ । आज भन्दा शताब्दीयौं अगाडि वैधहरूले व्यक्तिको नाडी छामेर, मुख वा जिब्रो हेरेर उसलाई कुन रोग लागेको छ भनेर बताउँथे रे । तर अहिले समय निकै फेरिएको छ । मानिस आधुनिकतातिर दौडिरहेका छन् ।
समाज दिन प्रतिदिन विकसित हुँदै गइरहेको छ । यससँगै हाम्रो वरपरका धेरै कुरा पनि फेरिएका छन् । विकासको यो दौडमा हामीले केही गुमाएका छौँ भने त्यो हाम्रो पुरातन चिकित्सा प्रणाली हो । तर अब बिस्तारै यस्तो चिकित्सा अभ्यास फिर्ता हुन लागेको छ । मानिसको जिब्रो हेरेर मेसिनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट उसको रोगको सही निदान गर्नेछ । यसले चाँडै रोगहरू पत्ता लगाउन मद्दत गर्नेछ । यसले तपाईँलाई बारम्बार रगत परीक्षणबाट गुज्रनु पर्ने स्थितिबाट पनि बचाउनेछ ।
इराकको मिडल टेक्निकल युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको अनुसन्धानका कारण यो सम्भव हुन लागेको हो । हालै इराकको मिडल टेक्टिक्नकल युनिभर्सिटीका वैज्ञानिकहरूले जिब्रोको तस्बिरबाट ९८ प्रतिशत सटीकताका साथ रोग पत्ता लगाउन सक्ने एआई मोडल विकास गरेका छन् । यो प्रविधिले ‘रियल टाइम’मा जिब्रोको फोटोको विश्लेषण गर्नेछ र छिटो अनि सही नतिजा दिनेछ । यो प्रविधि पूर्णतया सफल भयो भने रोगहरू पत्ता लगाउनु अब केही मिनेटको मात्रै काम हुनेछ ।
यस प्रविधिको जग प्राचीन चिनियाँ चिकित्सा विधिमा आधारित छ । यसमा डाक्टरहरूले जिब्रोको रङ्ग र संरचनाको आधारमा रोगहरूको भविष्यवाणी गर्थे । आधुनिक विज्ञानले यो प्राचीन ज्ञानलाई उन्नत एआई मोडेलसँग जोडेर अझ प्रभावकारी बनाएको छ । युनिभर्सिटी अफ साउथ अस्ट्रेलिया र इराकको मिडल टेक्निकल युनिभर्सिटीका अनुसन्धानकर्ताहरू मिलेर यो एआई मोडल तयार गरेका हुन् । यसक्रममा ५ हजार २६० वटा जिब्रोका तस्बिरहरूको परीक्षण गरिएको थियो । यी तस्बिरहरू विभिन्न रोगहरूको लेबलको साथ विश्लेषण गरिएको थियो ।
कुन रोगमा जिब्रोको रङ्ग कस्तो हुन्छ ?
अनुसन्धानले मधुमेहका बिरामीको जिब्रो प्रायः पहेँलो हुने देखाएको छ भने क्यान्सर रोगीहरूको जिब्रो बैजनी रङको हुन्छ र यसमा बाक्लो तह हुन्छ । तीव्र स्ट्रोकबाट प्रभावित व्यक्तिहरूको जिब्रो रातो रङको र अनौठो आकारको हुन्छ । रोग छिट्टै र सही रूपमा पत्ता लगाउन सकोस् भनेर एआई मोडलहरूलाई त्यस्ता तस्बिरहरूको विश्लेषण गर्न तालिम दिइएको थियो । यो प्रविधिले जिब्रोमा स्पष्ट देखिने रोगहरू पहिचान गर्न सक्षम छ ।
यो प्रविधिले उच्च शुद्धता त दिन्छ नै सामान्य स्मार्टफोन क्यामेराहरूमा पनि प्रयोग गर्न सकिने बताइएको छ । परम्परागत चिकित्सा सुविधा नभएका दुर्गम क्षेत्रमा पनि यो प्रविधि उपयोगी हुने आशा गरिएको छ । प्रारम्भिक चरणमा रोगहरू पत्ता लगाएर यो प्रविधिबाट प्रभावकारी उपचार सम्भव भएको र महामारी जस्ता परिस्थितिहरूमा तत्काल कदम चाल्न सकिने आशा पनि पलाएको छ ।