पछिल्ला
कतिपय मुद्दा मामिलाले नेपालको कानुन व्यावसायका स्तर र प्रवृत्तिका बारेमा पनि
गम्भीर भित्री अध्ययन र अनुसन्धान एवम् अन्वेषण गर्नुपर्ने अवस्था देखिएको छ। अव
यो विषयमा गम्भीर छलफल गरिएन भने, नेपालको वकालतले निकै
ठूलो चुनौतीको सामाना गर्नु पर्नेछ। अत: आम नागरिक समाजले अब तलका केही बुँदामा
गम्भीर अवलोकन गरोस् भनी अह्वान गर्छु। नेपालको न्याय प्रणालीलाई मर्न नदिन केही
गम्भीर कदमहरु चाल्नु पर्ने अवस्था महसुस गरेको छु।
१.
वकिलले बादी वा प्रतिवादी अर्थात् फौजदारी मुद्दामा सरकार, पीडित वा अभियुक्तका पक्षबाट
प्रतिनिधित्व गर्नैपर्छ, अन्यथा
न्याय निरोपण गर्न सकिन्न। प्रतिपक्षी वकिलले अभियुक्तका पक्षबाट बहस गर्ने कुरा
पनि राज्यकै काम हो भनी वकालतको दर्शनले मान्दछ। राज्यले अभियुक्तलाई आफ्नो
नियन्त्रणमा लिई, थुनामा
राखी अनुसन्धान गर्छ। उस्का सबै अधिकारमा बन्देज गरिएको हुन्छ। उसका विरुद्ध ठूलो
धनराशी खर्च गर्न सक्छ। राज्य शक्तिशाली हुन्छ। तर ब्यक्ति जतिसुकै बलियो भए पनि, राज्यजति बलियो हुँदैन।
त्यसैले, राज्यले
ब्यक्तिलाई वकिल दिएर उस्को हक सुरक्षित गर्छ र उसकाविरुद्ध अनुसन्धान गर्छ। यसो
गरेको निर्दोषलाई जोगाउन हो भन्ने मान्नु पर्छ। वकालतको इतिहास दुई हजार वर्ष
पुरानो छ, पूर्वमा
पनि पश्चिममा पनि। अत: अभियुक्तका पक्षमा बहस गरेका कारणले वकिललाई गाली नगर्न
समस्त नागरिक समाजसँग अनुरोध गर्द्छु।
२.
समस्या अरु नै छ्न्। मैले यी कुरा नडराई राख्नुपर्छ। यदि राज्य चाहन्छ भने खोजी नीति
गरोस् र वकालतको मर्यादा जोगाउने काम गरोस् भनी अपिल गर्छु। वकालत पतन भयो भने, राज्य पनि कमजोर हुन्छ।
यी समस्या सार्वजनिक रुपमा राख्ने म हिम्मत गर्छु, किनभने मलाई भोलि बारको
चुनाव लडेर अध्यक्ष बन्ने वा न्यायाधीश बन्ने, वा सल्लाहकार बन्ने, वा संस्थाका कानुनी
सल्लाहकार बनेर फाइदा लिने लोभ छैन। म वकिल साथीहरुलाई निम्न अनुरोध गर्द्छु।
क.
झगडियाले मुद्दालाई हारजितको खेल बनाएर प्रतिस्पर्धाको स्थिति सिर्जना गर्ने
प्रवृत्तिलाई प्रोत्साहित नगरौँ। कांग्रेस, कम्युनिस्ट, मधेसी दल, राप्रपाका एक/एक जना
वकिल खोज्ने प्रवृत्ति मौलाएको छ। एकजना वकिलले मुद्दा लिन्छ, र एक दर्जन वकिल बुक
गर्छ। उनीहरु लाखसम्म फि लिएर त्यस मुद्दामा संलग्न हुन्छ्न। दुई मिनेटमा उपस्थित
हुन्छ्न, अगाडि
बोल्ने वकिलले बोलेका कुरा दोहोर्याउँछन्। यसरी वकालतमा कार्टेलिङ भएको छ। यसलाई
वकालत भन्न सकिन्न। यो ठेकेदारी हो। यसले नयाँ वकिलको उन्नयनलाई निस्तेज बनाएको छ।
वकिल जब कुनै ब्यक्तिको कानुनी सल्लाहकार भएर उभिन्छ, उसको राजनीतिक आवद्धता
हुँदैन। उस्को लिङ्ग र जात हुँदैन।
ख.
बारको अध्यक्ष भएपछि, महासचिव
भएपछि पनि ब्यक्तिका मुद्दा यथावत बहस गर्ने कहीँ नभएको चलन हाम्रो देशमा छ। यदि
देशको बारमा निर्बाचित भएपछि पनि बहस गरिरहने हो भने न्याय निष्पक्ष हुँदैन, किनभने बार न्यायाधीश
नियुक्त गर्ने न्याय परिषदको सदस्य सिफारिस गर्ने निकाय पनि हो। आफैँ न्यायाधीश
नियुक्त गर्ने सदस्यको छनोट गर्ने अनि आफैं बहस गर्न जाने? कहाँको नैतिकता हो यो? त्यसैले, बारमा निर्वाचित हुने
कुरा पनि प्रभाव निर्माण गर्ने माध्यम बनेको छ। लाखौँ खर्च गरेर निर्वाचन लड्ने
प्रवृत्ति मौलाएको छ। बारको अध्यक्ष उपस्थित भएको मुद्दा छिन्दा न्यायाधीश
प्रभावित हुन्छ, भलै
म तपाईँको बारको पदबाट प्रभावित हुन सक्छु भन्ने हिम्म्त गर्ने न्यायाधीश पनि
पाइएन।
ग.
बारलाई प्रयोग गरी न्यायाधीश हुनेको संख्या पनि कम छैन। पार्टीसँग आवद्ध वकिलका
राजनीति संस्था छ्न्। तिनले उम्मेदवार तय गर्छन् र पार्टी लाइन समातेर चुनाव
लड्छ्न। ठूला नेताको मानिस हुन सकेमा मात्र यी पदमा चुनाव लड्ने अवसर पाइन्छ।
यस्ता कुराको बिरोध गर्ने चाहिँ डोजरले पेलिन्छ्न्। बारको खुड्किलो चडेपछि
न्यायाधीशमा चढ्ने अवसर प्राप्त हुन्छ। अनि न्यायपालिकामा भ्रस्टाचार नभए के हुन्छ? राजनीतिकरण नभए के
हुन्छ? देश
लुटेका धनी राष्ट्रसेवक भैसकेका मानिसलाई कारबाही भैहाल्यो भने तीस जना वकिलको
लर्को त्यस्ता मानिसका वकिल भएर बहसमा उत्रिन्छ्न। प्रत्यके पार्टीसँग जोडेर
उनीहरुको छनोट गरिन्छ। त्यसैले वकालत अहिले सेवा रहेन, यो धन कमाउने, पद आर्जन गर्ने, कानुनी सल्लाहकारको पद
पाउने र राजनीति गर्ने माध्याम बन्न पुग्यो। बारको यो हालत निर्माण गर्न नेताहरुको
भूमिका पनि छ। यो पवित्र पेशा आज तरकारी बजार जस्तो भयो, जति बार्गेनिङ गरे पनि
हुने।
घ.
बार काउन्सिलको अनुशासन समितिमा वकिलकै संख्या बढी हुन्छ। अनैतिक व्यवसाय गर्नेलाई
कारबाही हुँदैन। अध्यक्ष र महासचिवले सामान्य वकिल सरह बहस गरेपछि, कसले कारबाही गर्ने? आफैं व्यवसायमा संलग्न
भएपछि, अनि
कार्टेलिङ गर्नेले उपलब्ध गराएका मुद्दामा पनि सरिक हुन थालेपछि कसरी निष्पक्षताका
साथ काम गर्छन् बारका पदाधिकारीले?
ङ.
महान्यायाधिवक्ता देशको प्रथम वकिल हो। उसले राज्यको राष्ट्रपति र प्रधानमन्त्रीलाई
समेत राय दिने हैसियत राख्छ। अभियोजनको अन्तिम अधिकार पनि प्राप्त गरेको छ। उसले राज्यका
गोप्यता जानकारी प्राप्त गर्छ। नेपालमा त अपराधीका विरुद्ध अनुसन्धान नगर्नु भन्ने, प्रधानमन्त्रीले राजीनामा
दिँदा पनि आफू राजीनामा नदिने, र आफ्नै पालामा अनुसन्धान
प्रारम्भ भएका मुद्दामा आफू निबृत भएपछि कुनै संकोच बिना बहस गर्ने जस्ता
प्रवृत्ति आम बन्न थालेका छ्न्। संसारको कुन देशका वकिलले यस्तो सदाचारहीन काम
गरेका छ्न् देखाइपाउँ?
च.
राज्यले वकिललाई आफ्नो फिस आफैं तोक्ने विशेष अधिकार दिएको छ। तर यसको तात्पर्य मानिसलाई
व्यबसायमा कार्टेलिङ गरेर लुट्नुपर्छ भन्ने हो? नेपालमा कानुन व्यवसाय
संसारमा सबैभन्दा महंगो छ।
च.
वरिष्ठ कानुन व्यवसायीले आफूसँग एक जना सहयोगी कानुन व्यवसायी साथमा लानुपर्ने
कानुन छ। तर वकिलले नियम पालना गर्नु पर्दैन। उसले जे गरे पनि हुन्छ। बस, उसले कसैको आशीर्वाद
प्राप्त गरेको हुनुपर्छ। आशीर्वाद प्राप्त गर्नु होस्, मलाइ इर्ष्या छैन। यदि
त्यसो गर्ने हो भने वकालत नगर्नुहोस्। यदि वकालत गर्ने हो भने आशीर्वाद प्राप्त
नगर्नु होस्।
छ.
आम जनता प्रभावित हुने राज्यका विकास र सुशासनका मुद्दा अदालतमा पर्छन। थुप्रै
मानिसका ज्यान जोखिममा हुन्छ्न। तर त्यस्ता मुद्दामा केही व्यक्तिका लाभका लागि
वकिलसाबहरु न्यायाधीशलाई प्रभावित पार्न सबैथोक गर्नु हुन्छ। किन? उनीहरुको आडमा केही
भ्रष्ट न्यायाधीशले सम्पूर्ण असल न्यायाधीशको साख समाप्त पार्दै न्यायको व्यापार गर्छन्।
नेपालको
वकालतको जग केही त्यस्ता व्यक्तिले तयार पारे जसलाई सम्झिँदा पनि शीर झुक्छ।
त्यस्ता न्यायाधीश थिए, जसले
राजाविरुद्ध पनि फैसला गर्ने आँट गरे। कहाँ गयो त्यो इतिहास? के पढाउने हामीले विद्यार्थीलाई?
मलाई थाहा छ, यति लेखेपछि मेरो छाला
काढिने छ। ज्यान इज्जत सबै खोसिन सक्छ। म सबै चुनौती खप्न सक्नेगरि मनोबल निर्माण
गर्दैछु। न्याय जोगाउन केही गर्न सकौँ, त्यतिमात्र चाहना हो।