चितवनमा बुधबारदेखि ‘ विषादी प्रयोगमुक्त सप्ताहब्यापी कार्यक्रम सुरु

चितवनमा बुधबारदेखि ‘ विषादी प्रयोगमुक्त सप्ताहब्यापी कार्यक्रम  सुरु

चितवन : चितवनमा बुधबारदेखि ‘विषादी प्रयोग मुक्त सप्ताह(२०७६’ सुरु भएको छ । विषादीको बढ्दो प्रयोगले मानव, पशुपंछी र वातावरणमा परेको प्रभावलाई कम गराउन सचेतना फैलाउने उद्देश्यले विषादी प्रयोग मुक्त सप्ताह सुरु गरिएको हो ।

पुस २९ गतेसम्म चल्ने सप्ताहमा घातक विषादीको प्रयोग हटाऔं, जैविक विविधताको संरक्षण गरौं भन्ने मुल नाराको साथमा जनचेतनामूलक र्‍याली, सडक नाटक, विद्यालयस्तरीय चेतनामूलक कार्यक्रम, विषादी अनुगमन, बाली उपचार शिविर, पोष्टर पम्प्लेट वितरण र रत्ननगर महोत्सवमा अन्तरक्रिया तथा नाटक प्रस्तुत गरिने प्लान्ट क्वारेन्टीन एवम् विषादी व्यवस्थापन केन्द्र ललितपुरका निमित्त प्रमुख सहदेवप्रसाद हुमागाईले जानकारी दिए ।

अत्यन्त घातक विषादीको प्रयोगमा प्रतिबन्ध गर्दै ऐन नियमावलीको कडाइका साथ लागू गर्न र आईपीएम कार्यक्रमलाई बढवा दिन कार्यलयले निरन्तर अभियान संचालन गरिरहेको उनको भनाइ छ । रसायनिक विषादीको न्यूनीकरण गर्ने उदेश्यले स्वास्थ्य र वातावरण अनुकुल जैविक विषादी उत्पादन एवं प्रयोगका लागि नेपालको ७ जिल्लामा सामुदायिक आईपीएम श्रोतकेन्द्र स्थापना गरिएको छ ।

काठमाडौं बाहिर काभ्रेपछि दोस्रो पटक चितवनमा कार्यक्रम गर्न लागिएको हुमागाईले जानकारी दिए । काभ्रे र चितवन तरकारी उत्पादन बाढी हुने जिल्लामा पर्दछन् । सप्ताहव्यापी कार्यक्रममा किसान र उपभोक्ता दुवैलाई बढीभन्दा बढी सहभागी गराइने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए ।

प्रदेश नम्वर ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चितवनको सबैभन्दा ठूलो तरकारी बजार भरतपुर २ क्षेत्रपुरमा दुई साता अघिमात्र विषादी परीक्षण प्रयोगशाला स्थापना गरेको छ । सो प्रयोगशालामा दैनिक रुपमा तरकारी तथा फलफूलको विषादी परीक्षण हुने गरेको ज्ञान केन्द्रका प्रमुख ढकालले जानकारी दिए ।

नेपालमा सन् १९५२ सालमा मामलेरिया रोग नियन्त्रणका लागि भित्रयाइएको विषादी त्यसपछिका वर्षहरुमा कृषि उत्पादनको क्षेत्रमा प्रयोग गर्न थालिएको हो । अन्य देशको तुलनामा प्रतिइकाइ जमीनमा विषादीको प्रयोग निकै कम भए पनि ८५ प्रतिशत बढी विषादी तरकारी बालीमा मात्र प्रयोग हुने गरेको सरकारी तथ्याङकमा उल्लेख छ ।

गत वर्ष मात्र नेपालमा ६३२।४१ टन विषादी आयात भएको थियो । त्यस मध्ये कीटनासक २१६ टन, रोगनाशक २६७ टन, झारनासक १४२ टन र अन्य ५ टन रहेको छ । विषादी आयातको लागि करिब ८४ करोड रुपैयाँ गत वर्ष खर्च भएको छ । विषादीले मानव जीवनमा तत्काल तथा दीर्घकालीन असर गर्ने गर्दछ । जसमा तत्काल असरको रुपमा मानिस मुर्छा पर्ने, झाडा पखाला लाग्ने, कम्पन, दृष्टि कमजोर तथा अन्ततः मृत्युसमेत हुने गरेको छ ।