कोभिड संक्रमणको जोखिम कायमै, तेस्रो लहर आउला ?

कोभिड संक्रमणको जोखिम कायमै, तेस्रो लहर आउला ?

काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमणको दोस्रो लहर घट्दै जाँदा निषेधाज्ञा पनि क्रमशः खुकुलो बनाउँदै लगिएको छ । संक्रमण दर घटे पनि जोखिम भने कायमै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सार्वजनिक यातायात र मानिसहरुको आवतजावत बढेसँगै कोभिड संक्रमण पुनः बढ्नसक्ने विज्ञहरुले आंकलन गरेका छन् । परीक्षण गरिएकाहरुमध्ये रिपोर्ट पोजेटिभ आउने दर २१.४ प्रतिशत रहेको छ । अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ९६८ छ । निको हुने दर ९४.५ प्रतिशत पुगेको छ । यो अवस्थामा तेस्रो लहर आउनसक्ने जोखिमबारे विज्ञहरु के भन्छन् ? 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको तेस्रो लहर आउनसक्ने र त्यसबाट बालबालिका धेरै प्रभावित हुनसक्ने जनाएको छ । बालबालिकाका लागि सबै अस्पतालमा कम्तीमा २० प्रतिशत शैया छुट्याउन पनि मन्त्रालयले अनुरोध गरेको छ । अहिलेसम्म नेपालमै म्युटेन्ट भएर उत्पति भएको नयाँ भाइरस पुष्टी भएको छैन । तर युके, भारत लगायतका मुलुकमा देखिएका भाइरस तीनका उत्परिवर्तित प्रजातीहरु डेल्टा, अल्फा र काप्पा भेरियन्ट भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा पछिल्लो समय डेल्टा भेरियन्टको म्युटेन्ट प्रजाती ‘के–४१७ म्युटेसन’ भेटिएको जनाइएको थियो । यसलाई ‘एवाई–१’ नाम दिइएको छ । यो भेरियन्ट नेपालमा यसअघि भेटिएका भेरियन्टभन्दा बढी संक्रामक र सबै उमेरका व्यक्तिलाई असर गर्ने रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा दोस्रो लहरको कोभिड संक्रमण भएकाहरुमध्ये धेरै संक्रमितहरुमा डेल्टा भेरियन्ट पुष्टि भएको थियो । 

तेस्रो लहर नआउला भन्न सकिँदैन 
कुनैपनि सरुवा रोगले समय र वातावरण अनुसार आफ्नो संक्रामक रुप परिवर्तन गर्दै लैजाने भाइरोलोजिष्टहरु बताउँछन् । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन कोभिड १९ को पनि म्युटेन्ट रुपहरु देखिँदै गएकाले तेस्रो लहर नआउला भन्ने कुरा यकिन गर्न भने नसकिने बताउँछन् । तर, अहिले देखिएको संक्रमण दरको आधारमा पुनः संक्रमण उच्च हुने संभावना भने नदेखिने उनको भनाइ छ । भाइरसको जुनसुकै भेरियन्ट आए पनि कोभिड १९ विरुद्धको खोप लिएका अधिकांश व्यक्तिहरु संक्रमणको जोखिमबाट भने सुरक्षित रहेको डा। पुन बताउँछन् । भाइरसले एकदमै फरक रुप लिए खोपको कम्पोनेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था आउला तर अहिले देखिएका भेरियन्टहरुको हकमा खोपहरुले काम गरिरहेको देखिन्छ त्यसैले जति धेरैलाई खोप दिनसक्यो त्यति नै तेस्रो लहरको जोखिमबाट टाढा हुने संभावना रहन्छ । 

पहिलो र दोस्रो लहरजस्तो संक्रमण अब फैलिँदैन 
नेपालमा निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढेका कारण कोभिड संक्रमण अब केही समय बढ्नसक्ने संक्रामक रोग विशेषज्ञ डा। अनुप सुवेदीको आंकलन छ । तर, नेपालमा फरक भेरियन्टकै कारण तेस्रो लहरको कोभिड संक्रमण भने नआउने उनी बताउँछन् । नेपालमा अन्य देशमा जस्तो भाइरस म्युटेन्ट भएर तेस्रो लहरको संक्रमण फैलिने देखिँदैन, अहिले भइरहेका भेरियन्टहरु नै धेरै व्यक्तिमा फैलिनसक्ने संभावना भने छ, मानिसको आवतजावत र भेटघाट बढ्दा अहिले नेपालमा सक्रिय रहेका भेरियन्टहरु एक अर्कामा फैलिने जोखिम भने कायमै रहेको उनी बताउँछन् । तर, पहिलो र दोस्रो लहरजस्तो ठूलो संख्यामा भने अबको संक्रमण नफैलिने डा सुवेदीको भनाइ छ ।
 
खोप नै तेस्रो लहरबाट बच्ने उपाय 
नेपालमा कोभिड संक्रमण भदौ महिनाको आसपासमा पुनः फैलिनसक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनीको आंकलन छ । “ मानिसको चहलपहल बढेको र भाइरसको रुप फेरिरहने प्रकृतिले गर्दा तिज ताका नेपालमा कोभिड संक्रमण बढ्नसक्छ,” डा मरासिनी भन्छन्, “बढीभन्दा बढी नागरिकलाई खोप दिनसके स्थिति नियन्त्रण होला अन्यथा तेस्रो लहरको जोखिम कायमै छ ।” 

विश्वबजारमा अहिले कोभिड–१९ विरुद्धको खोप सहज उपलब्ध छैन । खोप उत्पादक मुलुकहरुले अन्य देशमा निर्यातभन्दा आफ्नै नागरिकलाई प्राथमिकतामा राखेर प्रयोग गरिरहेका छन् । तर, दातृ निकाय र खोप उपलब्ध गराउनसक्ने मुलुकहरुसँग पनि नेपालको सहज पहुँच र बलियो कुटनीतिक सम्बन्ध नभएकै कारण नेपालले खोप नपाएको बुझाइ छ डा मरासिनीको भनाइ छ । “अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरु, जसले यो अवस्थामा नेपाललाई खोप उपलब्ध गराउन सक्छन्, त्यस्ता निकायमा नेपालका प्रतिनिधि कमै छन् । यो कारणले गर्दा नेपालमा आउनसक्ने खोप पनि आइरहेको छैन,” उनले भने । 

त्यस्तै पछिल्लो समय नेपालमा नेपालको परराष्ट्र मन्त्रालयको भूमिका पनि कमजोर भएको मरासिनीको बुझाइ छ । “अहिले खोप स्टक रहेका अमेरिका, बेलायतलगायत मुलुकहरुसँग नेपालको परराष्ट्र मन्त्रालयको निकटतम सम्बन्ध भएको भए खोप आउन सहज हुने थियो तर यी देशहरुसँग नेपालको कुटनीतिक हैसियत नै पुगेन, जसले खोप आउन ढिलाई हुनुमा महत्वपूर्ण अर्थ राख्दछ,” डा मरासिनीको तर्क छ  ।