शनिबारदेखी पानीचरा गन्‍न ३०० जनाको टोली खटिँदै

शनिबारदेखी पानीचरा गन्‍न ३०० जनाको टोली खटिँदै

काठमाडौं : नेपालको सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधि गर्न शनिबारदेखि जलपन्छीको गणना गरिँने भएको छ । यही पुस १९ देखि माघ ५ गते (जनवरी ४ देखि १९) सम्म हुने जलपन्छी गणनामा विज्ञ, सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय, र सरकारी प्रतिनिधिलगायत गरी ३०० भन्दा बढी जनशक्ति परिचालन हुने बताइएको छ।

नेपालका सिमसार क्षेत्रमा चराको चहलपहल बढदो रहेको छ। हिउँदको चिसो बढेसँगै न्यानो वासस्थान, आहार र प्रजननका लागि चरा उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धमा बसाइँसराइ गरीरहेका छन्। एकथरी चराले अन्तरदेशीय सीमाको लामो दूरी पार गरी नेपालमा बसाइँसराइ गर्छन् भने केहीले नेपालकै उच्च पहाडी भूभागबाट तराईमा छोटो दूरीको बसाइँसराइ गर्ने गरेका छन्। सिमसार र आसपासको क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपन्छी भनिन्छ।

स्वयंसेवीरूपमा गरिने यस गणनामा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई संरक्षणमा जनचेतना अभिवृद्धिसमेत गर्ने उद्देश्य रहेको गणनाका राष्ट्रिय संयोजक डा। हेमसागर बरालले जानकारी दिए। ‘वेटलेण्ड इन्टरनेशनल’ संस्थाको समन्वयमा नेपालको ‘हिमाली प्रकृति’ संस्थासँगको सहकार्यमा स्वयंसेवीरूपमा यो गणना हुन लागेको हो। मुलुकभरका पाँच दर्जन बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गरिने जलपन्छी गणना तराई क्षेत्रका सिमसार क्षेत्रमा बढी केन्द्रित हुनेछ।

वेटलेण्ड इन्टरनेशनलको अगुवाइमा विश्वभर नै यही समयमा जलपन्छी गणना हुने भएकाले विश्वभरकै जलपन्छीको सङ्ख्या आँकलन हुने उनले बताए। यस गणनामा चरा चिन्ने विज्ञको नेतृत्वमा अन्य सहभागीको सहयोगले चरा पहिचान गरी गणना गरिन्छ। नेपालका सिमसार क्षेत्रमा यतिबेला विभिन्न प्रजातिका हाँस, बकुल्ला, लामा आउले, सुडसुडियलगायतका चरा बढी देखिन्छन्। गणनाको विवरण वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई बुझाइने र सार्वजनिक गरिने डा बरालले बताए।

सन् १९८७ देखि नेपालमा पनि हुँदै आएको यो गणनामा जलपन्छीका प्रजाति, तिनको सङ्ख्या, सङ्कट र वासस्थानमा देखिएका समस्याजस्ता जानकारी अभिलेख गरिने छ। विभागले जलपन्छी गणनामा सहयोग पु¥याउन मुलुकभरका संरक्षित क्षेत्रका प्रमुखलाई परिपत्र गरिसकेको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। गणनामा संलग्न संस्था नेपाल पन्छी संरक्षण सङ्घका अनुसार नेपालमा ८८६ भन्दा बढी प्रजातिका चरा पाइन्छन्। त्यसमध्ये १५० भन्दा बढी हिउँदमा र ६० भन्दा बढी चरा गर्मीयाममा नेपाल आउने पाहुना चरा हुन्।