फेसबुकबाट अरुलाई जिस्क्याए अब १५ लाखसम्म जरिवाना, पाँच वर्षसम्म हुनसक्छ कैद

फेसबुकबाट अरुलाई जिस्क्याए अब १५ लाखसम्म जरिवाना, पाँच वर्षसम्म हुनसक्छ कैद

काठमाडौँः सामाजिक सञ्जालमार्फत हुने अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्नेगरी सरकारले प्रस्तुत गरेको सूचना प्रविधिसम्बन्धी विधेयक प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको छ । विधेयकले नागरिकस्तरबाट चासोपूर्वक हेरिएका प्रावधानहरु प्रायः जस्ताको तस्तै पारित गरेको छ । पारित विधेयकका केही प्रावधानमा नेपाली कांग्रेसले फरक मत राखेको छ ।

समितिको आइतबारको बैठकले विधेयक बहुमतले पारित गरेको हो । विधेयकको प्रतिवेदन अब प्रतिनिधिसभामा पेश हुनेछ ।

विधेयकले साइबर बुलिङलाई कसुर मानेको छ । सामाजिक सञ्जालबाट हुने अश्लील व्यवहार, धम्क्याउने, जिस्क्याउने, घृणा गर्ने कार्यलाई दण्डनीय मानेको छ । तर, के कतिमा घृणा वा धम्की हुनेजस्ता विषय मौन छन्।

पारित विधेयक अनुसार सामाजिक सञ्जालमार्फत अब कसैलाई जिस्क्याएमा पाँच वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । कसुरको मात्रा हेरेर दुबै सजाय समेत हुन सक्नेछ ।
यस्तै, सामाजिक सञ्जालबाट मुलुकको सार्वभौमसत्ता, अखण्डता, जात–जातिबीचमा मतभेद उत्पन्न गर्ने, समुदाय र सम्प्रादयबीच द्वन्द्व भड्काउने काम गरेको पनि पाँच वर्षसम्म कैद हुनेछ। विधेयक पारितपछि अब विद्युतीय हस्ताक्षर अभिलेखसमेतले सरकारी कामकाजमा मान्यता पाउनेछ ।

सामाजिक र प्रविधिजन्य कारोबार र कसुरलाई समेत नियमन गर्न ल्याइएको विधेयकका केही प्रावधान मौजुदा कानुनमा पनि समेटिएका विषय छन् ।

समितिबाट पारित विधेयक अनुसार अब सामाजिक सञ्जाल सञ्चालकले सञ्चालनपूर्व दर्ता गर्नुपर्नेछ । दर्ता नगरेमा सरकारले त्यस्ता कम्पनीलाई सञ्चालनमा रोक लगाउन पनि सक्नेछ । दर्ताको व्यवस्था कम्पनीको हकमा लागू हुनेछ । व्यक्तिगत एकाउन्टमा भने लागू हुनेछैन ।