काठमाडाैं। लामो समयपछि हुन लागेको पारिवारिक भेटघाटमा संलग्न हुन इटली जान गत वर्ष यजान हतारिएका थिए। यी २० वर्षे सिरियाली युवक लन्डनमा अध्ययनरत छन्। तर अरू युरोपेली देशको भ्रमण गर्नका लागि आवश्यक भिसाका लागि उनले अन्तर्वार्ताको मिति पाएनन्।
“मैले दुई महिना प्रयास गरेँ,” उनले बीबीसीसँग भने। मध्यरातमा समेत उनी अनलाइन बुकिङ साइट चहार्थे र अन्तर्वार्ताको निम्ति खाली समय खोज्थे। “मैले बिहान ४-५ बजे पनि प्रयास गरेँ। तर मिति पाउन सकिनँ।” उनले हार मारे। परिवारका अरू सदस्यसँग भिडिओ कल गरेर मात्र उनी चित्त बुझाउन बाध्य भए।
भिसाका निम्ति लागिपर्ने मान्छेमा यजान मात्रै छैनन्। बीबीसीले अन्तर्वार्ताको मिति उपलब्ध नभएका कारण शेङ्गन क्षेत्रको यात्रा गर्न नसकेका विश्वका विभिन्न मानिसहरूसँग कुरा गरेको छ।
कतिपय मानिसले 'फेसबुक' तथा 'टेलिग्राम' र 'कोरा'जस्ता अनलाइन मञ्चबाट पनि अन्तर्वार्ताको मिति कसरी मिलाउन सकिन्छ भनेर सल्लाह मागेको देखिन्छ। उनीहरूले केही पैसा तिर्दा ‘सहयोग’ गरिदिने मानिस पनि फेला पारेका छन्।
शेङ्गन क्षेत्रमा पर्ने २९ देशको भिसा पाउनका लागि सङ्घर्षरत मानिसका निम्ति अन्तर्वार्ताको समय जुटाइदिन तीव्र गतिमा बुकिङ गर्न सक्ने सफ्टवेअरहरूको कालोबजारी फस्टाएको देखिन्छ।
ती देशमा प्रवेश गर्न युरोपबाहिरका मानिसहरूले 'शेङ्गन भिसा' लिनुपर्छ। (नेपालीमा धेरैले शेन्जेन भिसा भन्छन्।)
उक्त प्रवेशाज्ञा भएका मानिसले युरोपेली सङ्घ (ईयू)का एक वा त्योभन्दा धेरै देशहरू १८० दिनको अवधिमा ९० दिनसम्म भ्रमण गर्न सक्छन्।
कोभिड महामारीपश्चात् अन्तर्राष्ट्रिय यात्राको माग अत्यधिक रूपमा बढेको छ।
ईयूले सन् २०२३ मा एक करोडवटा शेङ्गन भिसा प्रदान गरेको थियो। सन् २०२२ मा यो सङ्ख्या ७३ लाख थियो।
संयुक्त राष्ट्रसङ्घको पर्यटनसम्बन्धी निकायका अनुसार सन् २०२४ को पहिलो तीन महिनामा २८ करोड ५० लाख मानिसहरूले विदेश यात्रा गरेका छन्। यो सङ्ख्या सन् २०२३ को सोही अवधिको तुलनामा २० प्रतिशतले धेरै हो।
शेङ्गन भिसाको कामका निम्ति बाह्य पक्षलाई जिम्मा दिइएको छ। युरोपेली सरकारका तर्फबाट विभिन्न निकायहरूले उक्त कार्यको व्यवस्थापन गर्दै अन्तर्वार्ताको मिति दिनेदेखि निवेदकको कागजपत्र सङ्कलन तथा बायोमेट्रिक गर्दै आएका छन्।
हामीले यस्तो सेवा दिँदै आएका दुई संस्था टीएलएस कन्ट्याक्ट र भीएफएस ग्लोबलाई सम्पर्क गरेका थियौँ। उनीहरूले आफ्नो वेबसाइटमा राखिने अन्तर्वार्ताका मितिहरू आफूले प्रतिनिधित्व गरिरहेका देशको दूतावासले निर्धारण तथा नियन्त्रण गरेअनुरूप हुने बताएका छन्।
ईयू कमिशनका प्रवक्ता क्रिस्टिआन भिगान्डले बीबीसीलाई बताएअनुसार कोभिडपछि यात्रा प्रतिबन्ध भएका बेला कतिपय सदस्यराष्ट्रले कर्मचारी सङ्ख्या घटाएको र बाहिरी कम्पनीसँगको सम्झौता पनि रद्द गरेकाले जनशक्तिको कमी हुँदा मागअनुरूपको सेवा दिन कठिनाइ हुने स्थिति उत्पन्न भएको हो।
उनले ईयू कमिशनले अन्तर्वार्ताका निम्ति धेरै समय कुर्नुपर्ने स्थितिलाई हल गर्न उपायको खोजी गरिरहेको पनि बताए। उनका अनुसार हालै भिसा सेवामा १० यूरोले बढाइएको शुल्क पनि कर्मचारीको सङ्ख्या बढाउन प्रयोग गरिने छ।
यात्रुहरूले जुन शेङ्गन देशमा प्रवेश गर्ने हो त्यही देशमा भिसाका लागि आवेदन दिनुपर्छ। एकभन्दा बढी शेङ्गन देशहरूको भ्रमण गर्ने चाहेमा यात्राका क्रममा सबैभन्दा धेरै समय बिताउने देशमा भिसाको आवेदन दिनुपर्छ।
केही दूतावासहरूमा अन्यको तुलनामा धेरैको आवेदन पर्ने भएकाले कतिपय यात्रुले ‘भिसा किनमेल’ गर्ने महँगो बाटो अपनाइरहेका छन्।
“मानिसहरू जुन देशको भिसाको मिति पहिले पाइन्छ त्यही छान्न बाध्य छन्,” भारतस्थित ट्राभल एजेन्ट्स फेडरेशनका उपाध्यक्ष अनिल कल्सीले भने।
ईयूको नियमलाई अनुसरण गर्दै कतिपयले आफ्नो गन्तव्य मुलुकबाहेक भिसाका लागि आवेदन दिन मिति उपलब्ध भएको अर्को देशको भ्रमणमा समेत रकम खर्चिन खोजेका छन्।
अन्तर्वार्ताको मितिको उपलब्ध हुँदा त्यसलाई छल्न त्यसो गरिएको र त्यसैका कारणले पालो कुर्नुपर्ने समय झन् लम्बिन पुगेको ईयू कमिशनका प्रवक्ता बताउँछन्।
गत वर्ष बीबीसीले लन्डनस्थित फ्रान्सेली दूतावासलाई अन्तर्वार्ताको मितिको अभावबारे कुरा सोध्दा उसले ठूलो स्तरमा क्षमता अभिवृद्धि गर्दा 'भिसा किनमेल' लाई प्रोत्साहन पुग्ने बताएको थियो।
तर भिसा लिन यताउता भौँतारिँदा धेरै मानिसको खर्च पनि हुन्छ र समय पनि खेर जान्छ। यसबाट यात्रुहरूलाई इच्छाएको देशको भिसाका लागि समय मिलाइदिन्छौँ भनेर कालोबजारियाहरूले खेल्ने र कमाउने अवसर पाउँछन्।
लन्डनमा बसोबास गर्ने इजिप्टकी निर्वानाले आफ्नी साथीको विवाहमा इटली जान भिसा अन्तर्वार्ताका निम्ति कालो बजारियामार्फत् १०० पाउन्ड (झन्डै १३० अमेरिकी डलर) खर्च गरिन्।
“अन्तर्वार्ताको समय नपाएकाले दुलहीका धेरै आफन्त र साथीभाइ विवाहमा जान पाएनन्,” ३७ वर्षीया निर्भानाले भनिन्।
उनले एक साथीले सुझाएको उपाय प्रयोग गरिन्। पैसा तिरेपछि उनले ‘बट’मार्फत् अन्तर्वार्ताको मिति पाइएकी थिइन्।
टेलिग्राममा उपलब्ध यो ‘बट’ सेवाले तीन दिनभित्र अन्तर्वार्ताको मिति मिलाइदिने दाबी गर्छ।
तस्बिरको क्याप्शन,टेलिग्राममा उपलब्ध यो ‘बट’ सेवाले तीन दिनभित्र अन्तर्वार्ताको मिति मिलाइदिने दाबी गर्छ। हामीले यो तस्बिरमा उक्त सेवाको नाम छोपेका छौँ
रोबटलाई छोटकरीमा 'बट' भनिन्छ। यो अत्यन्तै तीव्र र नियमित रूपमा मान्छेले झैँ काम गर्ने 'कम्प्युटर प्रोग्र्याम' हो। कालोबजारी गर्ने बिचौलियाहरूले भिसा अन्तर्वार्ताको उपलब्धतामाथि निगरानी राख्न र समय उपलब्ध हुनासाथ एकैपटक धेरै स्थान 'बुकिङ' गर्न यसको प्रयोग गर्छन्।
नेदरल्यान्ड्समा हुने साङ्गीतिक कार्यक्रममा जानका निम्ति लन्डनमा भिसा अन्तर्वार्ताको मिति तय गर्ने प्रयास विफल भएपछि सिरेनले ३० पाउन्ड तिरेर 'बट' डाउनलोड गरिन्। उक्त बटले भीएफएस ग्लोबल वेबसाइटमा अन्तर्वार्ताको मिति उपलब्ध हुनेबित्तिकै सूचना उपलब्ध गराउने दाबी गरेको थियो।
छब्बीस वर्षीया यी लेबनानी युवतीले कालोबजारका बिचौलियालाई आफ्नो व्यक्तिगत विवरण उपलब्ध गराउनुभन्दा यो उपाय सुरक्षित रहेको ठानिन्। यस्तै सेवा प्रदान गरिरहेको टेलिग्राम च्यानलले ग्राहकलाई एकदेखि तीन दिनभित्रमा अन्तर्वार्ताको मिति सुरक्षित गर्ने वाचा गरेको देखिन्छ।
तर बटको सहयोगमा पनि सिरेनले अन्तर्वार्ताको मिति पाइनन्। उनी अन्य हजारौँ व्यक्तिहरूले पनि उही सूचना पाउनका लागि त्यसरी पैसा तिरेको हुन सक्ने ठान्छिन्। प्रत्येक पटक उनले प्रतिक्रिया व्यक्त गर्नुअघि नै अन्तर्वाता दिने मिति सकिइसकेको हुन्थ्यो।
“यो अत्यन्तै पीडादायक प्रक्रिया थियो र अन्त्यमा मैले हार मानेँ,” उनी भन्छिन्। एक वर्षअगावै टिकट खरिद गरेको भए पनि सिरेनले अब साङ्गीतिक कार्यक्रमको माया मारेकी छन्।
त्यसो त दूतावास र भिसा एजेन्सीहरूले “अन्तर्वार्ताको मितिमा हुने ठगी” विरुद्ध लड्न प्रविधिको प्रयोग गरिरहेका छन्।
टीएलएस कन्ट्याक्टले बीबीसीलाई बताएअनुसार उसले कालोबजारियालाई सहज हुन नदिन एक पटक मात्रै प्रयोग गर्न मिल्ने पासवर्ड (ओटीपी) पनि प्रयोग गरिरहेको छ। यसले अन्तर्वार्ताका नयाँ मिति अनुमान गर्न नसकिने गरी "अनियमित रूपमा जारी” गर्छ।
त्यस्तै किसिमका उपायहरू भीएफएस ग्लोबलले पनि अवलम्बन गरेको छ। बीबीसीलाई बताएअनुसार उसले 'बट'ले अन्तर्वार्ताको मिति 'बुक गर्नु'लाई अत्यन्तै गम्भीरतापूर्वक लिएको छ।
अहमद (परिवर्तित नाम) एउटा ट्राभल एजन्सीका सञ्चालक हुन्। उनी आफू 'कालोबजार'मा काम नगर्ने बताउँछन्। तर उनी कालोबजारियाले काम गर्ने तरिकासँग परिचित छन्।
उनी कालोबजारिया र ट्राभल एजेन्सीका मालिकहरूले भिसा सेवा दिने निकायका कर्मचारीसँग सम्बन्ध बनाएर ग्राहकका लागि अन्तर्वार्ताको मिति लिने गरेको दाबी गर्छन्। कर्मचारीहरूले प्राय: अन्तर्वार्ताको जारी हुन तय भएको मिति र समय खुलाइदिने गरेको उनी बताउँछन्।
“दुई पक्षबीचको सम्झौताको आधारमा ट्राभल एजन्सी र कालोबजारी गर्नेहरूले निर्धारित समयअगावै उनीहरूका निम्ति छोटो समयावधिका लागि खुलाइने सेवाबाट फाइदा लिन सक्छन्,” अहमद भन्छन्।
भिसाको अन्तर्वार्ताको जानकारी भएका अन्य स्रोतबाट पनि यस्तै दाबी सुनेपश्चात् बीबीसीले सरकारको सट्टामा काम गर्ने भिसा सेवा एजन्सीसँग प्रतिक्रिया मागेको थियो।
टीएलएस कन्ट्याक्टले त्यस्ता दाबीहरू गलत भएको र कालोबजारी गर्नेहरूले नै भिसा लिन चाहने मानिसहरूलाई विश्वस्त पार्न त्यस्तो दाबी गरेको हुन सक्ने बतायो।
“हाम्रो संस्थाभित्र पनि निकै सीमित सङ्ख्यामा वरिष्ठ कर्मचारीहरूसँग मात्रै अन्तर्वार्ता मितिको जानकारीमा पहुँच हुन्छ। उनीहरूको गतिविधिलाई हाम्रो सूचना प्रविधि (आईटी) प्रणाली र हामीले प्रतिनिधित्व गर्ने देशको भिसा विभागले नजिकबाट निगरानी गरिरहेको हुन्छ,” उसले भन्यो।
भीएफएस ग्लोबलका मध्यपूर्व र दक्षिण अफ्रिका प्रमुख अरिप्रसाद विश्वनाथनले बीबीसीसँग कुरा गर्दै कम्पनीलाई “त्यस किसिमको गलत कामको कुनै जानकारी नभएको, तर उक्त विषयमा अनुसन्धान गर्ने” बताए।
भीएफएसले "निजी रूपमा बुकिङ गर्न मिल्ने विन्डो नरहेको” र “अन्तर्वार्ताका मितिहरू सबैका लागि सार्वजनिक रूपमा उपलब्ध हुने” बतायो।
भिसासम्बन्धी कामको निगरानी गर्ने ईयू कमिशनका भिगान्ड यसका सदस्यराष्ट्रहरूले भिसा सेवामा संलग्न बाह्य सेवा प्रदायकहरूले सम्झौताअनुरूपको दायित्व पूरा गरे नगरेको र ईयूका नियम तथा भिसासम्बन्धी प्रावधानहरूको पालना भए नभएको सुनिश्चित गर्नुपर्ने बताउँछन्।