मिलनको जमानत जफत भएपछि रविले दिए यस्तो प्रतिक्रिया

मिलनको जमानत जफत भएपछि रविले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको हारलाई सहर्ष स्वीकार गर्न पार्टीका सदस्यहरूलाई आग्रह गरेका छन्। 

प्रतिनिधि सभा सदस्य चयनका लागि यही वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा रास्वपाका उम्मेदवार मिलन लिम्बु लज्जास्पद रूपमा हारेका हुन्। सदर मतको १० प्रतिशत मत पनि ल्याउन नसकेपछि उनको जमानत नै जफत भएको छ। 

त्यहाँ एमाले उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। उनलाई बधाई दिँदै रास्वपा सभापति रविले आफ्नो पार्टीलाई मत दिने तथा मत नदिएर सचेत गराउने इलामेली नागरिकप्रति पनि आभार प्रकट गरेका छन्। साथै उनले उक्त हारलाई कुनै पनि बहाना नबनाई सहर्ष स्वीकार गर्न पार्टी उम्मेदवार मिलनसहित पार्टी पंक्तिलाई आग्रह गरेका छन्।

 इलाम २ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्बाङजी विजयी हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु। हामीलाई मत दिनु हुने र मतसँगै ठूलो सन्देश दिनु हुने सबैप्रति आभारी छु। रास्वपा उमेदवार मिलन लिम्बुलगायत अहोरात्र खट्नु हुने सिंगो पार्टी पंक्तिलाई धन्यवाद’, रविले भनेका छन्, ‘जित्न सकिएन, सिक्न सकियो। त्यसैले कुनै इफ, बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ।’