ओली-प्रचण्ड विवादको चुरो, यही एउटा विषयमा गलफत्ति !

ओली-प्रचण्ड विवादको चुरो, यही एउटा विषयमा गलफत्ति !

काठमाडौं । ११ दिनको संवादहीनतापछि शनिबार छलफल गरेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सचिवालय बैठक डाक्ने/नडाक्ने विषयमै गलफती भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब २ घण्टा भएको भेटमा अध्यक्ष दाहालले पार्टीमा थुप्रै मतभेद रहेको बताउँदै सचिवालय बैठक बोलाउनुपर्नेमा जोड दिएका थिए । तर ओलीले अहिले सचिवालय बैठकभन्दा पनि दुई अध्यक्षबीच छलफल गरेर सहमति गर्नुपर्ने धारणा राखेका छन् ।

बैठकपछि दाहालले उनीनिकट नेताहरूलाई गरेको ब्रिफिङअनुसार छलफलको अधिकांश समय सचिवालय बैठक बोलाउनुपर्छ भन्ने उनको अडान र अहिले दुई अध्यक्षकै बीचमा बैठकका एजेन्डामा सहमति गरेपछि मात्रै सचिवालय बैठक बोलाउनुपर्ने ओलीको तर्कमै अल्झिएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक नबसेको लामो समय भएको र बोलाउनुपर्छ भन्नेबारे कुराकानी भए पनि कहिले बोलाउने भन्नेमा निर्णय नभएको जानकारी दिए ।

‘सचिवालय बैठक नबसेको लामो समय भएको छ, त्यसैले डाक्नुपर्छ भन्ने नै हो तर अध्यक्षहरूले एजेन्डामा सहमति गरेपछि महासचिवले बैठक बोलाउने कुरा भएको छ,’ थापाले कान्तिपुरसँग भने । गत भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले पनि अध्यक्षद्वयको सहमतिमा महासचिवले बैठक बोलाउने उल्लेख छ ।

शनिबारको छलफलमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखसँगको भेट, कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आएको अविश्वासको प्रस्ताव, पर्सामा आफ्नै कार्यकर्ताको आक्रमणबाट महेश चौरसियाको निधन भएपछिको घटनाक्रम, कोरोना नियन्त्रणमा सरकारले गरेका निर्णयलगायत विषयमा जतिसक्दो छिटो बैठक बोलाएर छलफल गर्नुपर्ने बताएका थिए । ‘तपाईंले एकलौटी निर्णय गर्दै जानुहुन्छ, बैठक पनि डाक्नु हुन्न,’ दाहालले ओलीसँग गरेको गुनासो उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रवक्ताले समेत बैठक बोलाउनुपर्छ भनेर दुईपटक पत्र पठाइसक्नुभएको छ, त्यसको पनि त सुनुवाइ हुनुपर्‍यो नि ।’

ओलीले दाहाललगायत पार्टीका अरू नेता पनि आफूविरुद्ध योजनाबद्ध रूपमा खनिएको गुनासो गरेका थिए । ‘तपाईंहरू मलाई असफल बनाउन कम्मर कसेरै लाग्नुभएको छ, दिनदिनै नयाँ–नयाँ ठाउँमा गुटका भेला गर्नु हुन्छ, कसरी सिध्याउने भनेर योजना बनाउनु हुन्छ,’ उनले दाहालसँग भनेका थिए, ‘पर्सा घटनामा मैले के गरें र वक्तव्य निकाल्नुभयो, कर्णालीको विषयमा मेरो वक्तव्यविरुद्ध प्रतिवक्तव्य किन निकाल्नुभयो ?’ त्यसपछि दाहालले ‘तपाईंले मनलाग्दी निर्णय गर्दै जाने, मैले कहिलेसम्म सहेर बस्ने ?’ भनेका थिए । दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बैठक बोलाउने विषयमा दुई अध्यक्षबीच कुराकानी भए पनि सहमति भने भइनसकेको बताए ।

स्रोतका अनुसार पार्टी सचिवालयभित्रको बदलिँदो समीकरणका कारण प्रधानमन्त्री ओली तत्काल बैठक बोलाउन इच्छुक छैनन् । पछिल्लो समय उपाध्यक्ष वामदेव गौममसमेत ओलीसँग असन्तुष्ट रहेर दाहालसँग नजिकिएपछि सचिवालयमा ओलीको अल्पमत हुन्छ । ‘झन्डै एक महिनादेखि सचिवालय बैठक बसेको छैन, स्थायी कमिटी र सचिवालयले गरेका निर्णयहरू कार्यान्वयन भएका छैनन्,’ स्रोतले भन्यो, ‘यस्तो बेला प्रधानमन्त्रीज्यू बैठक बोलाएर आफ्नै आलोचना सुन्न चाहनु हुन्न ।’

स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पनि अहिले बैठक बोलाउनेभन्दा आपसमा निरन्तर संवाद गर्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको आफूले पाएको बताए । ‘दुई अध्यक्षको छलफलपछि प्रधानमन्त्रीज्यूसँग मेरो एकछिन कुराकानी भएको थियो,’ उनले भने, ‘उहाँहरूबीच सौहार्दपूर्ण रूपमा छलफल भएको छ, यसलाई नै निरन्तरता दिनु हुनेछ ।’ नेम्वाङका अनुसार पनि अहिले नै सचिवालय या अरू बैठक बोलाउने भन्ने निर्णय भइसकेको छैन ।

गत असोज १९ गते बसेको सचिवालय बैठकले राजदूत नियुक्तिको मापदण्ड तयार पार्न अध्यक्षद्वयलाई आग्रह गरेको थियो । त्यसपछि सचिवालय बैठक बस्न सकेको छैन । प्रधानमन्त्री ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सहमति नजुटिरहेका बेला ओली र नेपाल पक्षधर नेताहरूले मिलेर कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि उनीहरूको छलफल खलबलिएको थियो ।

लगत्तै ओलीले तीन मन्त्री थप्दासमेत एकलौटी गरेको भन्दै दाहाल रुष्ट भएपछि उनीहरूबीच संवाद हुन सकेको थिएन । तर दोस्रो तहका नेताहरूले बारम्बार भेटेर कुराकानी सुरु गर्न आग्रह गरेपछि दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न गएका हुन् । ओलीलाई भेट्न जानुअघि उनले आफ्नै निवास खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका थिए । त्यस क्रममा अब छुट्टाछुट्टै भेटभन्दा पनि बैठक बोलाएरै विषयको छिनोफानो गर्नुपर्ने र दाहालले ओलीसँग त्यही प्रस्ताव राख्ने सहमति बनेको थियो । कान्तिपुरमा खबर छ ।