दशैंकाे बीचमा दुई बालिका सामूहिक बलात्कृत, ढिला गरी सार्वजनिक भयो घटना

दशैंकाे बीचमा दुई बालिका सामूहिक बलात्कृत, ढिला गरी सार्वजनिक भयो घटना

टीकापुर । कैलालीको लम्कीचुहा नगरपालिकासँग जोडिएको जानकी गाउँपालिका–५ अमौरी गाउँमा दसैंको चहलपहल थियो ।

कात्तिक ८ गते अष्टमीका दिन गाउँमा डीजेसहित युवा नाचगान गरेर रमाइरहेका थिए ।

रमाइलो हेर्न बालिकाहरू पनि गएका थिए । तर घर फर्कने क्रममा ९ बजेतिर सामूहिक बलात्कारमा परे । बलात्कृत बालिका १३ र १४ वर्षका हुन् ।

जानकीका चार बालिका आफ्नै गाउँको अर्को टोलमा नाचगान हेरेर फर्कंदै थिए । ९ जनाको समूहमा रहेका केटाहरूले उनीहरूलाई घेरा हाले ।

एक बालिका घेरा हाल्ने केटामध्ये एक जनाको साथीकी बहिनी थिइन् । उनलाई साथीकी बहिनी भनेर छाडे । अर्कीलाई पनि चिनेकै भएर केही गरेनन् । दुई जनालाई बन्धक बनाए, सामान्य कुटपिट गरे । अरू दुई बालिकालाई भने खेतमा रहेको परालको थुप्रोमा लगी पालैपालो बलात्कार गरे ।

आफ्ना साथीलाई खेतमा लगेर बलात्कार गरिरहेको देखेर बन्धक रहेकी एक बालिकाले घरमा एसएमएसमार्फत घटनाको जानकारी गराइन् ।

परिवारले वडाध्यक्षलाई खबर गरे । वडाध्यक्षसहितको टोलीले घटनास्थलबाट उनीहरूको उद्धार गर्‍यो । टोली घटनास्थल पुगेपछि सामूहिक बलात्कारमा संलग्न युवा फरार भएका थिए । तर बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई घटनाकै राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जानकी–५ का १८ वर्षीय कृष्ण नगरकोटी र २२ वर्षीय मनोज चौधरी तथा लम्कीचुहा नगरपालिका–१ भुरुवाका १९ वर्षीय धीरेन्द्र विष्ट, १९ वर्षीय नरेश चौधरी, १८ वर्षीय रमेश शाही, १८ वर्षीय सत्यम रावल, २० वर्षीय रामबहादुर चौधरी र २१ वर्षीय महेश चौधरी छन् ।

१८ वर्षीय चन्द्र शाही फरार रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन घिमिरेले बताए । घटनास्थलबाट पीडितलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

सामूहिक बलात्कारमा परेका दुई बालिका शारीरिक तथा मानसिक पीडामा छन् । उनीहरू घरबाट निस्कने अवस्थामा नरहेको परिवारको भनाइ छ ।

‘शारीरिक तथा मानसिक रूपमा पीडा कति छ भन्ने शब्दले बताउन सक्ने अवस्था छैन,’ पीडितकी आफन्त कलावतीले भनिन् । उनका अनुसार ती बालिकालाई घरमै राखेर अस्पताल लग्दै औषधोपचार भइरहेको छ । सामूहिक बलात्कार घटनाको कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

उनका अनुसार घटनास्थलको मुचुल्का तयार पारिएको र आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइनेछ । फरार एक जनाको खोजी भइरहेको छ ।

८ जना अभियुक्तले घटनामा संलग्नता रहेको स्वीकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ । कान्तिपुरमा खबर छ ।