गोंगबु हत्या प्रकरणको नालिबेली, प्रहरीले यस्तो निकाल्यो प्रारम्भिक निष्कर्ष

गोंगबु हत्या प्रकरणको नालिबेली, प्रहरीले यस्तो निकाल्यो प्रारम्भिक निष्कर्ष

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत सोमबार फेला पारेको छ ।

प्रहरीले आइतबार हत्यापछि जेब्रा झोलामा टाउको र खुट्टा तथा घाँटी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हालेर फ्याँकिएको अवस्थामा शव फेला पारेको थियो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहानै मृत व्यक्तिको फोटो सार्वजनिक गरेपछि मृतकको पहिचान भएको थियो । प्रहरीले दिउँसो करिब तीन बजे सुटकेसमा शव फ्याँकिएको करिब ५० मिटर परको दुरीमा साढे तीन तले हरियो घरमा हत्या भएको निष्कर्ष निकालेको हो ।

प्रहरी स्रोतका अनुसार शव भेटिएको स्थानभन्दा ५० मिटर पर नवज्योतिमार्गस्थित सो घरको दोस्रो तलामा दाङका कृष्णबहादुर बोहोराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई समेत चितवनबाट पक्राउ गरिसकेको छ । उनी महिला भएको र हत्यापछि शव फालेर चितवन गएको देखिएको प्रहरी उच्च स्रोत बताउँछ ।

तर, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने हत्याको अनुसन्धानका क्रममा धेरैलाई सोधपुछका लागि बोलाइएको र छाडिएको तर सोमबार साँझसम्म हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको बताए ।

‘हत्याको अनुसन्धानका क्रममा धेरैलाई सोधपुछका लागि बोलाइएको छ र छाडिएको छ तर सोमबार साँझसम्म हत्यामा संलग्न व्यक्ति पक्राउ परिसकेका छैनन्, अनुसन्धान जारी छ,’ परिसर काठमाडौंका प्रमुख ज्ञवालीले राजधानीसँग भने ।

प्रहरी उच्च स्रोतका अनुसार शव फालिएको स्थान नजिकैका तीन तले घरको दोस्रो तलामा रहेको भान्छा कोठामा बोहोराको हत्या गरिएको प्रहरी अुसन्धानले देखाएको छ ।

भान्छाकोठा (किचन)मा घाँटीमाथिको भाग छिनाएपछि ट्वाइलेटमा लगेर घुँडामाथिको भाग छिनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।

प्रहरीले सोमबार दिउँसो नै बोहोराको हत्या गरिएको घरलाई घेरा हालेर हत्या गरिएको स्थानको मुचुल्कासमेत तयार गरिसकेको छ ।

गेस्ट हाउसमा बस्थे बोहोरा

प्रहरीका अनुसार मृतक बोहोरा गत मंसिरबाटै नयाँ बसपार्क मित्रनगरको वीरेन्द्र ऐश्वर्य मार्गस्थित नर्सिङधाम गेस्ट हाउसमा बस्दै आएका थिए ।

उनी सोह्रखुट्टेस्थित एक गार्मेन्ट उद्योगमा काम गर्थे । उनले ज्याकेट र रेनकोटको मार्केटिङसमेत गर्ने गरेका थिए ।

प्रहरीले आइतबार अबेरसम्मको प्रयासबाट पनि शवको सनाखत गर्न नसकेपछि सोमबार बिहानै मृतकको फोटो सार्वजनिक गरेको थियो ।

अपराध महाशाखा र काठमाडौं प्रहरीले मृतकको मुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको थियो । त्यसपछि उनी दाङ घर भएका कृष्णबहादुर बोहोरा भएको पुष्टि भएको थियो ।

बोहराको हत्या गरी टाउको र खुट्टा जेब्रा झोलामा हालेर फालिएको थियोे भने शरीर सुटकेसमा प्याक गरेर फालिएको अवस्थामा आइतबार बिहान भेटिएको थियो ।

फोटो देखेपछि चिन्यौं : गेस्ट हाउस सञ्चालक

बोहोरा दाइ मंसिरदेखि हाम्रो गेस्ट हाउसमा बस्दै आउनुभएको हो । उहाँ एक्लै नै बस्नुहुन्थ्यो । उहाँले भनेअनुसार सोह्रखुट्टेमा गार्मेन्टमा काम गर्ने र ज्याकेट र रेनकोटको मार्केटिङको काम गर्ने भन्ने सुनेका थियौं ।

दुई साताअघि ५० लाख खाएर भागेको मान्छे फेला पारें, केही दिन नआउन पनि सक्छु, नडराउनुहोला, फोन पनि नलाग्न सक्छ भन्नुभएको थियो । रुमको भाडा दिन बाँकी भएर त्यसो भनेको होला जस्तो लाग्यो ।

उहाँले भनेअनुसार पैसा खाएर भाग्ने मान्छे महिला हो भन्ने लाग्छ ।

गएको शनिबार बिहानै कपडा धोई सुकाएर नुहाइधुवाइ गरेर बस्नुभएको थियो । त्यही दिन बेलुका करिब ३÷४ बजेतिर स्कुटर लिएर निस्कनुभएको हो ।

त्यसपछि सोमबार बिहानै एक जनाले ‘चिन्नुहुन्छ यो मान्छे’ भनेर फोटो देखाए । आफ्नै गेस्ट हाउसमा बस्ने मान्छे नचिन्ने कुरै थिएन । फोटो देखेपछि चिन्यौं र हामी झस्याङ्ङ भयौं ।

आइतबार सुटकेसमा उहाँको नै शव भेटिएको भन्दा खल्लो लाग्यो । सोमबार प्रहरीहरू आएर उहाँ बसेको रुम हेर्नुभयो ।

नागरिकता पनि रहेछ । अनि उहाँको पहिचान खुलेको थाहा पायौं । धेरै समय भयो, हाम्रो गेस्ट हाउसमा बसेको । त्यसकारण पनि हत्या भएको भनेर पत्याउनै सकिरहेको छैन । हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।

(गेस्ट हाउस सञ्चालकसँग फोनमा भएको संवाद)

चितवनबाट महिला पक्राउ

गोंगबुमा कृष्णबहादुर बोहोराको बीभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा चितवनको टाँडीबाट एक महिला पक्राउ परेकी छन् ।

चितवन प्रहरीले टाँढी, माधवपुरबाट कल्पना शाहीलाई हत्याको आशंकामा पक्राउ गरेको हो ।

स्रोतका अनुसार उनी प्रहरीले सोमबार फेला पारेको हत्या भएको घरको कोठामा बस्दै आएकी थिइन् । तर, हत्यापछि शव फालेर उनी चितवन गएको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ । प्रहरीले उनलाई सोमबार राति नै काठमाडौं ल्याउँदै छ ।

आइतबार गोंगबु चोकनजिकै सुटकेसभित्र टाउको र खुट्टाबिनाको शव फरक फरक स्थानबाट तालिम प्राप्त कुकुरको सहायताबाट प्रहरीले फेला पारेको थियो । महेश्वर गौतमले राजधानी दैनिकमा खबर लेखेका छन् ।