प्रहरीले समातेको १५ किलो 'सुन' कसरी भयो चाँदी ?

प्रहरीले समातेको १५ किलो 'सुन' कसरी भयो चाँदी ?

प्रहरीले कमलादीमा सुरक्षा जाँच गरिरहेको थियो। त्यही बेला बा.६च ५५१९ नम्बरको सेतो रङको स्कर्पियो प्रहरीले रोक्न खोज्यो। तर गति बढाएर गाडी भाग्यो। प्रहरीले पिछा गर्‍यो। त्यसको सुइँको पाएपछि कपडाको झोला फ्याँकेर गाडी भागेको प्रहरीले जनाएको थियो।

यो घटना गत मंगलबारको हो। तत्काल काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पत्रकार सम्मेलन गरी १५ किलो सुनसहित हतियार फेला पारेको जानकारी दिए। उनले थप अनुसन्धान भइरहेको बताए। तर, प्रहरीले सुन भनेको धातु पछि जाँच गराउँदा साढे १४ किलो चाँदी पुष्टि भयो। आधा किलो मात्र सुन भएको प्रहरीले बतायो ।

प्रहरीको कडा सुरक्षा भएको ठाउँबाटै गाडी कसरी उम्कियो ? यसमा गम्भीर प्रश्न उब्जिएको छ। प्रहरीकै मिलेमतो भएको हुन सक्ने आशंका गरिएको छ। उक्त घटनाको छानबिन गर्न महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो। तर, काठमाडौं प्रहरी प्रमुख ज्ञवाली र अपराध माहाशाखा प्रहरी प्रमुख थापाबीच समन्वय अभावका कारण दोस्रो दिनमै समिति संयोजक फेरिए। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुनीलकुमार यादवलाई संयोजक बनाइयो ।

लुटपाटको १० लाख नगदसहित न्युरोडबाट घुमुवा प्रहरीसहितलाई पक्राउ गरेको घटनाको जस कसले लिने भनेर ज्ञवाली र थापाबीच हानथाप रहेछ। त्यही विषयमा उनीहरूबीच समन्वय अभाव थियो। त्यसैले ज्ञवालीको आग्रहमा समितिको संयोजक परिवर्तन गरिएको स्रोतले जनाएको छ। अनुसन्धान अधिकृतबाट त्रुटि

एसएसपी यादव नेतृत्वको समितिले मंगलबारको घटनामा प्रहरीका अनुसन्धान अधिकृतको त्रुटि रहेको देखाएको छ। प्रहरी स्रोतका अनुसार अनुसन्धान अधिकृत डीएसपी रञ्जन दाहालले नक्कली घटनास्थल देखाएर प्रहरीलाई गलत सूचना दिई अनुसन्धानमा गम्भीर लापरवाही गरेको देखिएको छ। ‘दरबारमार्ग महानगरीय प्रहरी वृत्तका डीएसपी रञ्जन दाहालको गम्भीर त्रुटि देखिन्छ’, समितिका एक सदस्यले भने, ‘गाडी र मान्छे तत्कालै समात्न सक्ने अवस्थालाई दाहालले बेवास्ता गरेको देखियो। हामी थप छानबिनमा छौं ।’

डीएसपी दाहालले उम्किएको गाडीको गलत नम्बर ट्राफिक प्रहरीलाई उपलब्ध गराएको पाइएको छ। उनले ५५१९ हुनुपर्नेमा ५५११ बताएका थिए। आफूलाई पनि गाडी भागेपछि मात्र डीएसपी दाहालले जानकारी दिएको ज्ञवालीको भनाइ छ। समिति स्रोतका अनुसार प्रहरीलाई दिइएजस्तो घटना विवरण कमलादीमा रहेको सीसीटीभी फुटेजमा देखिएको छैन। अनुसन्धानबाट नयाँ घटनास्थल सुन्धारा भएको कुरा खुलेको छ ।

स्रोतका अनुसार ‘क्राइम सिन’ परिवर्तन गर्नु, ट्राफिक प्रहरीलाई गाडी नम्बर गलत टिपाउनु, जलप लगाएको वस्तुलाई जाँच नगरी सुन भनेर पत्रकार सम्मेलन गर्नु, काठमाडौंका अन्य प्रहरी वृत्तमा समन्वय नगर्नु प्रहरीको मुख्य लापरवाही देखिएको छ। छानबिन प्रतिवेदनको अन्तिम चरणमा पुगेको समितिका एक सदस्यले बताए ।

गाडी ललितपुरमा, अभियुक्त नवलपरासीतिर

उक्त घटनाको तेस्रो दिन बिहीबार सुन काण्डका तीन अभियुक्त पक्राउ परेका छन् भने गाडी पनि फेला परेको छ। देवान पटेल, निलेश सखिया र विजय पटेल नवलपरासीको दुम्कीबाट पक्राउ परेका हुन्। उनीहरू चेकपोइन्ट कमलपोखरीबाट गाडी लिएर भागेको अनुसन्धानबाट खुलेको छ।

सुन्धारामा पुग्दा झोला फ्याँकेर ललितपुर नखिपोटमा गाडी छोडी नागढुंगा पुगेका थिए। काठमाडौंमा बिरामी ल्याएर बुटवल फर्किंदै गरेको ट्याक्सीलाई मनकामना जाने भनी चढेर भैरहवा पुर्‍याएको अनुसन्धानबाट खुलेको छ। त्यसपछि प्रहरीले दिएको हुलियाका आधारमा नवलपरासीको दुम्कीबाट ट्याक्सीसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । सुवास गोतामे र उपेन्द्र अर्यालले अन्नपूर्ण पोस्टमा खबर लेखेका छन् ।