आमाबुवाको सम्बन्ध विच्छेदले बच्चामा कस्तो मानसिक असर पार्छ?

आमाबुवाको सम्बन्ध विच्छेदले बच्चामा कस्तो मानसिक असर पार्छ?

काठमाडौं। बालबालिकाको शारीरिक तथा मानसिक विकासमा आमाबुवा दुवैको उतिकै भूमिका रहन्छ । तर दुवैबीच सम्बन्धमा दरार आउँदा त्यसको असर बच्चामा पर्न सक्छ । यसले उसको भविश्यमा समेस नकारात्मक प्रभाव पर्ने भएकाले यसमा आमाबुवा दुवैजना सजक र सतर्क हुन जरुरी छ । आमाबुवाबीच हुने सम्बन्ध विच्छेदले बच्चामा पर्न सक्ने मानसिक असरबारे हामी चर्चा गर्नेछौं ।

आमाबुवाको सम्बन्ध विच्छेदले बच्चा हुने मानसिक असर

भावनात्मक अस्थिरता

आमाबुवाको सम्बन्ध विच्छेदले बच्चाले असुरक्षित महसूस गर्न सक्छ । उसलाई कोही छैन र एक्लै भएको महसूस हुँदा भावनात्मक रुपमा ऊ कमजोर हुँदै जान्छ । परिवारमा भएको बिछोडले मानसिक रुपमा ऊ आफैं पनि टुक्रिँदै जान्छ ।

अध्ययनमा अस्थिरता

आमाबुवाबीचको सम्बन्धमा आएको दरारले बच्चामा मानसिक विचलन आउने भएकोले अध्ययनमा उसको मन स्थिर हुन सक्दैन । जसले गर्दा उसको पढाइको स्तर खस्किँदै जान्छ ।

सामाजिक समस्या

आमाबुवाबिचको सम्बन्ध बिग्रँदा बच्चाले अरुलाई पनि विश्वास गर्न सक्दैन । सामाजिक रुपमा घुलमिल गर्न उसलाई डर लाग्छ र ऊ बिस्तारै एक्लो हुँदे जान्छ ।

आक्रामक व्यवहार

आमाबुवाबिचको सम्बन्धमा दरार आउँदा हुने झगडाकै कारण बच्चा पनि आक्रामक हुँदै जान्छ । जुनसुकै कुरामा झगडा गर्ने हुँदा उसमा रिस, कुण्ठा, चिन्ता र डिप्रेसन समेत हुन्छ । यसले उसको शारीरिक अवस्थामा समेत नकारात्मक प्रभाव पार्छ ।

यस्तो अवस्थामा बच्चालाई यसरी हेरचाह गर्न सकिन्छ:

बच्चासँग खुलेर कुरा गर्ने

बच्चाको कुरालाई आमाबुवा दुवैले ध्यान दिएर सुन्नुपर्छ र उसँग खुलेर कुराकानी गर्नुपर्छ । उसको कुरा सुनेर दुवैले समर्थन गर्नुपर्छ ।

बच्चालाई स्थिर बनाउने कोसिस गर्ने

बच्चाको दैनिक कार्यलाई व्यवस्थित बनाउन समयतालिका बनाउने र उससँग उसको क्रियाकलापमा सहकार्य गर्नुपर्छ । यसले गर्दा बच्चा सामान्य स्थितिमा रहन सक्छ ।

संयुक्त पालन–पोषण

आमाबुवा दुवै मिलेर बच्चाको लालनपालन र हेरचाह गर्नुपर्छ । बच्चामा आमाबुवाबिचको सम्बन्ध राम्रो छैन भन्ने महसूस हुन दिनु हुँदैन ।

माया र समर्थन गर्ने

बच्चालाई आमाबुवा दुवैले बरोबर माया र समर्थन गर्नुपर्छ । आमा र बुवा दुवैको माया र हेरचाह बच्चामा भएमा उसले सुरक्षित महसूस गर्न सक्छ ।

थेरापी र काउन्सिलिङ गर्ने

बच्चामा सामान्य भन्दा फरक व्यवहार वा धेरै चिन्तामा देखिएमा बाल मनोविद्सँग भेटेर काउन्सिलिङ र थेरापी गर्नुपर्छ । यसले बच्चाको मानसिक स्वास्थ्य बिग्रन पाउँदैन ।